नेपालमा बोलिने भाषाहरुलाई संरक्षण गर्नुपर्नेमा शताब्दी पुरुष जोशीको जोड

मंसिर १७,२०७७

-

मंसिर १७, २०७७ काठमाडौं ।
 
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा बोलिने भाषाहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूमा आबद्ध पत्रकारहरुसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा जोशीले भाषा संरक्षणमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।
 
देशको पहिचानसँग सम्बन्धित भाषा बचाउनका लागि राष्ट्र भाषालाई अनिवार्यरुपमा संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो । ‘पाली भाषा र संस्कृत भाषा अहिले मृततुल्य छ । यसको अर्थ करिब मरिसकेको भन्ने हो ।’-उहाँले भन्नुभयो। त्यस्तै, जोशीले आआफ्ना घरमा नानीहरुसँग मातृभाषाबाटै कुराकानी गर्न आग्रह पनि गर्नुभयो ।
 
आफ्नै रहनसहन, चाड तथा जात्रापर्वबारे सन्ततीलाई बुझाउन सके मात्र नेपालको मौलिक पहिचान जीवित रहने उहाँले बताउनुभयो ।
 
२०६८ सालको जनगणनाअनुसार नेपालमा १ सय २३ प्रकारका भाषाहरु छन् । सोही तथ्यांकमा ३५ प्रतिशत नेपाल भाषालाई मातृभाषा बोल्न नआउने उल्लेख गरिएको छ । यसको अर्थ राजधानीजस्तो सुुगम ठाउँमा बसोबास गर्ने सचेत रैथानेले पनि मातृभाषालाई छोड्दै गएको देखिन्छ । एक त फेसनका रुपमा आ–आफ्ना मातृभाषालाई बिर्सिएर दोस्रो र तेस्रो भाषा अँगालेको हुनाले नेपालमा भाषिक विविधतामा संकट पैदा भएको देखिन्छ ।
 
२०७२ मा जारी भएको नेपालको संविधानको प्रस्तावनामै बहुभाषिक, बहुजातीय तथा बहुधार्मिक देश उल्लेख छ । तर संविधानको भाग १ खण्ड ७ ९१० मा सरकारी कामकाजको भाषाका रुपमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा मात्र उल्लेख छ । खण्ड ७ ९२० मा प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।