सबै सरकारी सेवा अब एउटै एपबाट उपलब्ध हुने

माघ ०३,२०७७

-

माघ ३, २०७७ काठमाडौं ।
 
सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरेका हुन। 
 
नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकिकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने लक्ष्य वमोजिम सरकारी सेवाहरु प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । 
 
नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने छ । यस एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने छ ।  
 
“लाईन होइन् अनलाईनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप” भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत् हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ । यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक विदाको दिन पनि सेवा लिन सकिनेछ ।