ओलीभन्दा बढी मत ल्याएर सांसद जितेको हुँ, केटो भनेर नहेप्‍न भट्टराईको चेतावनी

माघ ०४,२०७७

-

माघ ४, २०७७ रामेछाप ।
 
नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्‍न चेतावनी दिएका छन् । ‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु ’, भट्टराईले आक्रोश पोखे-‘मलाई केटो भनेर जिस्क्याउने ?’ 
 
‘प्रधाानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दैछु’, आइतबार रामेछापको मन्थलीमा आयोजित जनसभामा भट्टराईले आक्रोश पोखे-उहाँको छुट्टिएको छैन होला ।
 
सभामा उपस्थित कार्यकर्तालाई भट्टराईले प्रधानमन्त्री केपीको स्कुलमा भर्ना नहुन आग्रह गरे । ‘त्यो स्कुलमा मर्यादा सिकाइँदैन, सिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला’ भट्टराईले भने ।
 
नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभालाई असंवैधानिक कदमबाट विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले कुन नैतिकताले फेरि प्रतिनिधिसभा माग गर्ने अधिकार छ ? भट्टराईले प्रश्न गरे ।
 
 ‘प्रधानमन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनुभएको छ ’, उनले भने, संसद विघटन गर्ने अधिकार नहुँदा नहुँदै पनि मुलुकलाई अस्थिरतातिर लान प्रधानमन्त्रीले असंवैधानिक कदम उठाए ।
 
काम गर्न नदिएको भन्ने ओलीको जिकिरलाई मिथ्या भन्दै भट्टराईले भने-नेकपाले ल्याएको नीति तथा कार्यक्रम कुनचाहिँ फेल भएको थियो? र काम गर्न पाइनँ भनेर गुनासो गर्दै हिँड्नुहुन्छ ।
 
भट्टराईले मुलुक फेरि द्वन्द्वतिर लैजान प्रधानमन्त्री उद्यत रहेको भन्दै नेपाली जनताको आशा र भरोषा माथि कुठाराघात भएको बताए । ‘२०१७ साल दोहोर्‍याउने प्रधानमन्त्रीको नियत हो ’, भट्टराईले भने -तर त्यो सपना नदेखे हुन्छ । कान्तिपुरबाट