खोप कार्यक्रममा गरिब मुलुक नछुटुन्ः डब्लूएचओ

माघ ०६,२०७७

-

माघ ६,२०७७ काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक विफलता’ को सामना गर्नुपर्ने औंल्याएका हुन् । 
 
सोमबार डब्लूएचओको कार्यकारी बोर्डको बैठकलाई सम्बोधन गर्दै महानिर्देशक टेड्रोसले कोरोना खोप पाउनबाट गरिब देश वञ्चिन भए महामारी अन्त्य नहुने चेतावनी दिएका हुन् । गरिब देशका बूढाबूढी र जोखिममा रहेका मानिसले भन्दा धनी देशका युवा र स्वस्थ मानिसले पहिले कोरोना खोप पाउनु न्यायोचित नभएको उनले टिप्पणी गरेका छन् । करिब ४९ धनी देशमा ३ करोड ९० लाख डोज कोरोना खोप उपलब्ध हुँदा कुनै गरिब देशमा २५ डोज पुगेको उनले बताए ।
 
अहिलेसम्म चीन, भारत, रुस, अमेरिका र बेलायतले कोरोनाविरुद्धको खोप बनाएका छन् । अमेरिकी र जर्मन कम्पनीको संयुक्त लगानीमा बायोएनटेक फाइजर खोपको विकास भएको छ । यी सबै मुलुकले पहिले आफ्ना नागरिकलाई नै खोप उपलब्ध गराउँदै आएका छन् ।
 
महानिर्देशक टेड्रोसले अहिले विश्व समुदायमा देखिएको नैतिक विफलताका कारण गरिब देश र त्यहाँका नागरिकले ठूलो मुल्य चुकाउनुपर्ने अवस्था आउने चेतावनी दिँदै कोरोना खोपको वितरण नीतिमा सुधार गर्नुपर्ने बताए । कोरोना खोपको वितरणमा ‘म पहिले’ भन्ने नीति अपनाउँदा त्यो आत्मघाती सावित हुन सक्ने र नाफाखोरहरु सल्बलाउने सम्भावना रहने पनि उनको भनाइ थियो ।
 
त्यस्तै महानिर्देशक टेड्रोसले आफूहरुले विश्वव्यापी खोप वितरण कार्यक्रम ‘कोभ्याक्स’ मा पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् । उनका अनुसार अर्को महिनादेखि यो कार्यक्रमअन्तर्गत कोरोना महामारीविरुद्धको खोप वितरण हुनेछ । आउँदो विश्व स्वास्थ्य दिवस ९अप्रिल ७० सम्म सबै सदस्य राष्ट्रमा कोरोना खोप पुऱ्याइसक्ने आफूहरुले लक्ष्य रहेको पनि उनले बताए ।
 
 
 
अहिलेसम्म १८० भन्दा बढी देशले कोभ्याक्स कार्यक्रममा सहभागी हुन हस्ताक्षर गरिसकेका छन् । यीमध्ये ९२ मुलुक न्यून र मध्यम आय भएका मुलुक छन् । तिनीहरुका लागि दाताहरुले पैसा तिरेर कोरोना खोप उपलब्ध गराउनेछन् ।