इजरायलमा इरानको ड्रोन आक्रमण, केही सैन्य क्याम्पमा क्षति

बैशाख ०२,२०८१

-आस्था न्यूज

बैशाख २, २०८१ काठमाडौं ।
इरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् ।
 
१ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत थिए । त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो ।
 
इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो । आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ ।
 
इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेका छन् । अझै पनि केही ड्रोनहरु इजरायलका आकाशमा उडिरहेको देखेको र ती केही घण्टामै इजरायलसम्म आइपुग्न सक्ने इजरायली सेनाले जनाएको छ ।
 
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका छन् ।