प्रचण्ड र मलाई प्रतिशोध साँध्ने योजनाका साथ ओली अघि बढेको माधव नेपालको आरोप

माघ ०७,२०७७

-

माघ ७,२०७७ काठमाडौं ।
 
नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिशोध साँध्ने योजनाका साथ अघि बढेको आरोप लगाएका छन् ।
 
बुधबार बिहान राजधानीमा केही सम्पादकहरूसँग भएको छलफलमा अध्यक्ष नेपालले ओलीले आफूसहित प्रचण्डलाई जेल हाल्ने योजनाकासाथ अघि बढेको बताए ।
 
प्रचण्डलाई माओवादीका पूर्वलडाकूका नामको रकम र नेपाललाई ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचारको मुद्दा अघि बढ्न सक्ने चर्चा भइरहँदा नेपालले आफूहरू दुबै जनालाई जेल हाल्ने प्रपञ्च भएको बताएका हुन् ।
 
बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। तर, यो प्रकरण नेपाल प्रधानमन्त्री हुँदा नै अघि बढ्दा पनि उनीविरूद्ध भने मुद्दा लागेको थिएन ।
 
पूर्वलडाकूका नाममा भएको भनिएको घोटलाको विषय अख्तियारले उठाउन खोज्दा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की नै पदच्यूच भएका थिए । त्यसयता यो विषय पनि अख्तियारले छानविन अघि बढाएको छैन ।