नेकपा आधिकारिकताको विवादको निर्णयमा हतार नगर्न आयोगलाई ओली समुहको आग्रह

फाल्गुण २१,२०७७

-

फागुन २१,२०७७ काठमाडौं ।
नेकपाको आधिकारिकताको विवादको निर्णय गर्न हतार नगर्न केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले निर्वाचन आयोगसमक्ष आग्रह गर्नुभएको छ । राजनीतिकरुपमा विभाजित तर कानुनीरुपमा एक रहेको नेकपाको आधिकारिकताको विवाद चाँडोभन्दा चाँडो टुंग्याउन विभिन्न पक्षबाट आग्रह गरिरहेका बेला नेता बस्नेत बिहीबार आयोगमा पुगेर सो आग्रह गर्नुभएको हो ।
 
आयोगमा उहाँले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुसँग केहीबेर छलफल गर्नुभएको थियो । आयोगले नेकपाको आधिकारिकताको विवादको सम्बन्धमा निर्णय गर्न ढिलाइ गरेकाले आयोगको भूमिकामाथि प्रश्न उठिरहेका बेला ओली पक्षका अत्यन्त निकट मानिने नेताले गरेको भेटघाटलाई अर्थपूर्णरुपमा लिइएको छ ।
 
प्रतिनिधिसभाका सांसदसमेत रहेका बस्नेतले भने आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग नेकपाका बहुमत सदस्य पार्टी एकताको पक्षमा रहेकाले विभाजनको निर्णय दिन हतारो नगर्न आयोगलाई आग्रह गरेको बताउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।