सहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस

बैशाख ०४,२०७८

-आस्था न्यूज

वैशाख ४, २०७८ काठमाडौं ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
 
शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
 
शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डीसीसीएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयले अति जोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द गर्न मानेका छैनन् ।
 
शिक्षा मन्त्रालयले शुक्रबार विद्यालय पुनःसञ्चालन कार्यढाँचा २०७७ अनुसार पालिकाले जोखिमको प्रकृतिअनुसार विद्यालय बन्दको निर्णय गर्ने सक्ने जनाएको थियो । काठमाडौं महानगरपालिकाले भने स्वास्थ्य मन्त्रालयको सुझावपछि शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएका विद्यालयले कम्तीमा एक साता पठनपाठन बन्द गर्नुपर्ने निर्णय गरेको छ ।
 
मन्त्रालयमा शुक्रबार आयोजित बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने बताएका थिए । उनले नै डीसीएमसी र पालिकालाई विद्यालय बन्द गर्न सक्ने अधिकार दिइएको जानकारी गराएका थिए ।