खडेरीले उत्पादन शून्य, लालाबाला पाल्ने चिन्तामा पहाडी समुदाय

बैशाख ०९,२०७८



वैशाख ९, २०७८ काठमाडौं ।
‘धर्तीमा आग पड्यो (जमिनमा आगो लागेजस्तो भयो), लालाबाला काँ लगेर पाल्ने ?’ बझाङ थलारा गाउँपालिका-२ का किसान शेरबहादुर खाती बाटो हिँड्नेहरूसँग विरह पोख्छन् । बेलाबेला खेततिर हेर्छन्, खुइय्य सुस्केरा हाल्छन् र टाउकामा हात राखेर टोलाउँछन् । 
 
उनको खेत आगोले डढाएजस्तै सुक्खा छ । छरेको बीउ नउम्रेर धेरैजसो ठाउँ बाँझै छन् । केही ओसिलो भागमा परेको बीउ उम्रे पनि फल नलागी सुकेको छ । ‘खत्तमै भयो भनेको साल पनि ३०र४० बोरी जेठाँसी तुल (हिउँदे बाली) हुन्थ्यो । यो साल त फल छाडी नल पन नहुन्याँ भयो,’ उनले भने, ‘यो पालाजस्तो अनिकाल त कहिले भएन । के खाएर बाँच्ने हो ?’
 
पोहोर–परार यो समयमा खाती परिवारलाई हिउँदे बाली भित्र्याउन चटारो हुन्थ्यो । चैत अन्तिम साताबाटै उनीहरू गहुँ, जौ, मसुरोलगायत हिउँदे बाली काट्ने, चुट्ने, छ्वाली र भुस्सा थन्काउने काममा व्यस्त रहन्थ्यो । परिवारले वर्षभरि खाएर बचेको अन्न बेच्ने गरेका उनीहरूले यसपालि एक गेडो अन्न भित्र्याउन पाएका छैनन् । खडेरीका कारण करिब २५ रोपनीमा लगाएको हिउँदे बाली फल लाग्नै नपाई खेतमै सुकेको खातीले बताए ।
 
लामो समयसम्म परेको खडेरीका कारण खातीमात्रै हैन, बगाडा, कफलकाडा, धनाडा, कात्रा, बेराडी, एनबाडा र तोतिबाडाका चार सयभन्दा बढी किसान परिवारको हालत यस्तै छ । ‘भदौदेखि राम्रोसँग पानी परेको थिएन, पुस-माघतिर वर्षा भइहाल्ला भनेर दुःख गरेर खेती लगायौं । छरेकै बीउ पनि उब्जनी भएन,’ दंगाजीका गणेश सायरले भने, ‘खडेरीले पूरै जमिन डढेको छ । उम्रेको बीउ पनि फल्न पाएन । खेतबारी सबै बाँझो भयो ।’
 
उनले हिउँदे बाली खडेरीले सखाप पारेकाले सयौं परिवार भोकमरीको चपेटामा पर्ने निश्चित भएको बताए । यस्तो समस्या जिल्लाभरि छ । खडेरीका कारण जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, वित्थडचिर, केदारस्युँ, दुर्गाथली, छविसपाथिभेरा र खप्तड छान्ना गाउँपालिकाका अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएको छ । आजको कान्तिपुरमा खबर छ ।