अन्तिम पटक सभापतिमा उठ्ने देउवाको भनाई
-आस्था न्यूज
असार ६,२०७८ काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।
आफ्नै निवास बुढानीलकण्ठमा आइतबार बिहान भएको छलफलमा क्रममा सभापति देउवाले आगामी १४ औँ महाधिवेशनमा आफू फेरि सभापति पदको उम्मेदवार उठ्ने भीमसेनदास प्रधानले जानकारी दिए ।
सभापति देउवाको भनाइ उद्धृत गर्दै नेता प्रधानले वर्तमान उपसभापतिलाई आफुले उत्तराधिकारीका रुपमा लिएको भए पनि आफू अन्तिमपटक लड्ने बताएको जानकारी दिए ।
छलफलमा नेता प्रधानले कृष्णप्रसाद सिटौलाको उचित व्यवस्थापन नगरे आगामी महाविधेशन जित्न समस्या हुने बताएको जनाएका छन् ।
आगामी चुनावका लागि सिटौलाको नेतृत्व आवश्यक रहेको भन्दै नेता प्रधानले सभापति देउवालाई दिएको सुझावबारे भने, ‘सिटौलाजीलाई चुनावको कमाण्डर बनाएर हुन्छ कि कार्यबाहक सभापति दिएर हुन्छ वा अरु के के गरेर हुन्छ सहकार्य गरौं ।’ जवाफमा सभापति देउवाले भने मुलुकलाई सहज बाटोमा लगेर आफूले कांग्रेसको नेतृत्व छाड्ने बताएको नेता प्रधानले जानकारी दिए ।
देउवाको भनाइ उदृत गर्दै उनले भने, ‘सभापतिले म फेरि पनि उठ्छु । अन्तिम पटक म लड्छु । मुलुकलाई सहज बाटोमा लगेर मात्रै नेतृत्व छाड्छु ।’
सभापति देउवासँगको छलफलका क्रममा नेता शंकर भण्डारीले भने कांग्रेसले आगामी महाधिवेशनबाट हिन्दु राष्ट्रको एजेण्डा बोक्नुपर्ने सुझाव दिएका छन् ।
सभापति देउवाले यसअघि पनि आफू पक्षका केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेका थिए । देउवाले आफू फेरि पनि सभापतिको उम्मेदवार बन्ने बताएका थिए । देउवाले तोकिएको मितिमा महाधिवेशन गर्ने समेत बताएको नेताहरुले बताएका छन् ।