कांग्रेस बैठकः सदस्यता छानविन समितिको प्रतिवेदन फिर्ता

श्रावण १३,२०७८

-आस्था न्यूज

साउन १३,२०७८ काठमाडौं ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदन फेरि समितिलाई नै फिर्ता पठाउने निर्णय गरेको छ ।
 
आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्नका लागि थप एक दिनको समय दिँदै प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको विवाद समाधानका लागि एक दिनको समय दिएर प्रतिवेदन फिर्ता पठाउने निर्णय गरेको जानकारी दिए ।
 
केन्द्रीय महाधिवेशनको तहमा पुग्नका लागि तल्ला ७ वटा तहको चुनावको प्रक्रिया समेत सम्पन्न गर्नुपर्ने अवस्था रहेको र आगामी १६ गते ७ सय ५३ वटा स्थानीयको तहमा अधिवेशन गर्नुपर्ने अवस्था रहेको भएपनि कतिपय स्थानमा क्रियाशील सदस्यताको विवाद कायमै रहेको र समितिले समेत समाधान गर्न नसकेको प्रतिवेदन बुझाएको भन्दै थप छलफल गर्न समितिमै फिर्ता पठाएर एक दिन समय दिने निर्णय गरेको उनले जानकारी दिए ।
 
उनले भने,‘१२ गते क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको थियो । समिति सदस्य कल्याण गुरुङले फरक मत राख्नुभएको छ । क्रियाशील सदस्यताको प्रतिवेदनलाई केन्द्रिय समितिले स्वामित्व लिएर फरक मत लिएको विषयमा समेत छलफल गरेर, विवादित भएका स्थानका बारेमा समेत निर्णय गर्नुपर्नेछ । भोलिसम्म हेरेर निष्कर्ष निकाल्नका लागि समय दिने निर्णय गरिएको छ ।’
 
प्रवक्ता शर्माले अहिले केन्द्रीय महाधिवेशनको मिति हेरफेरका बारेमा कुनै छलफल शुरु नभएको र कोरोनाको अवस्था हेरेर निर्णय हुने जानकारी दिए ।
 
उनले भने,‘बैठकमा कोरोना महामारीको अवस्था र त्यसले कांग्रेस महाधिवेशनमा पर्ने प्रभावका बारेमा समेत छलफल भएको छ ।