जसपाले संसदीय दलको नेता शनिबार छान्ने

श्रावण १४,२०७८

-आस्था न्यूज

साउन १४,२०७८ काठमाडौं । 
जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने भएको छ । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको एक नेताले जानकारी दिए ।
 
तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । जसअनुसार पार्टीभित्र परेका उजुरीहरूको छानविन गर्ने समितिको संयोजकमा नवराज सुवेदीलाई राखिएको छ ।
 
त्यसैगरी अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाई राखिएको छ । यसअघि अनुशासन समितिमा लक्ष्मणलाल कर्ण थिए । कर्ण महन्थ ठाकुर पक्षमा लागेका छन् । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् । बाँकी २२ मध्येबाट संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।