काँग्रेसको १४औँ महाधिवेशन भदौ १६ मै गराउने देउवाको अठोट

श्रावण १६,२०७८

-आस्था न्यूज

साउन १६,२०७८ काठमाडौं ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको १४औँ महाधिवेशन भदौ १६ मै गराउने अठोट पुनः दोहोर्‍याउनुभएको छ । उहाँले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु,’ भनेर बैठकमा महाधिवेशन गराउने अडान व्यक्त गर्नुभएको हो ।
 
पछिल्लो समयमा काँग्रेसका शीर्ष नेताहरू विवाद समाधानका लागि अहोरात्र खटेका छन् । तल्लो तहका नेताहरूले आफ्नो जिम्मेवारी पूरा नगरी केन्द्रमा क्रियाशील सदस्यको विवरण पठाएका कारण महाधिवेशनको स्थानीय तहको कार्यतालिका नै प्रभावित भएको छ ।
 
नेताहरूका अनुसार क्रियाशील सदस्यताको ९८ प्रतिशतको काम सकिएको छ । यो विवाद समाधान गर्न लागि बूढानीलकण्ठमा शुक्रबार बसेको शीर्ष नेताहरू सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूबीच घनीभूत छलफल भएको छ ।
 
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद मिलाउन नेताहरू छलफलमा जुटेको जानकारी दिँदै छिट्टै निकास निस्कने जानकारी दिनुभयो । उहाँले क्रियाशील सदस्यता छानबिन समितिले धेरै काम पूरा गरेकाले अब बाँकी विषय नेताहरूले टुङ्गो लगाउने बताउनुभयो ।
 
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु,’ भन्नुभएको छ । प्रधानमन्त्री बैठकबाट बाहिरिए पनि अन्य नेताहरू लामो समयसम्म बैठकमा व्यस्त रहनुभयो । डा। प्रकाशशरण महत सभापति देउवा र केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजाल नेता पौडेलको सहयोगीका रूपमा उपस्थित हुनुहुन्थ्यो । साथै क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक बैठकमा सहभागी हुनुहुन्थ्यो ।
 
यसैबीच समायोजनसम्बन्धी कार्य पनि बाँकी रहेकाले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समितिमा उपसभापति विजयकुमार गच्छदार, डा। प्रकाशशरण महत, दीपक गिरी, दिलेन्द्रप्रसाद बडूसहितको बैठक पनि शुक्रबार लामो समयसम्म बसेको जानकारी मुख्य सचिव पौडेलले दिनुभयो । 
 
यी दुवै समितिको बैठक शनिबार १२ बजे पुनः बस्ने छ । समयोजनको काम नसिकिँदा क्रियाशील सदस्यताको विवाद समाधान हुन समस्या भएको हो ।
नेपाली काँग्रेसमा विवाद बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यताको समस्या समाधानका लागि नयाँ मापदण्ड बनाइने भएको छ । नयाँ मापदण्ड बनाएर क्रियाशील सदस्यताको विवाद मिलाउने सहमतिमा पार्टीका शीर्ष नेताहरू पुगेका छन् ।
 
नेताहरूले यही साउन १९ गतेभित्र क्रियाशील सदस्यताको बाँकी जिल्लाको टुङ्गो लगाउने छन् । यसअघि बिहीबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पाँच दिनभित्र विवादको टुङ्गो लगाउने जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिने निर्णय गरेको थियो ।