हिजोको एमाले बनाउन अब सबैले मन फराकिलो बनाउनुपर्छः शाक्य

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौं ३१, २०७८ काठमाडौं ।
नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बलियो एमाले बनाउनका लागि सबैले फराकिलो मन बनाउने बेला आएको बताएकी छिन् । 
 
उनले अन्तरपार्टी संघर्षलाई अघि बढाउँदै पार्टीले जारी गरेका १२ वटा अन्तरपार्टी निर्देशनको अक्षरश पालना गर्न नेतृत्वलाई आग्रह गरिन् । ‘म विशेषगरी पार्टीको नेतृत्वलाई अपिल गर्छु, १२ वटा अन्तरपार्टी निर्देशन जुन जारी भएको छ, त्यसको अक्षरश पालना गरौँ । त्यसमा कुनै जालझेल र षड्यन्त्र आवश्यक छैन,’ उनले भनिन्, ‘७५ जेठ २ मा जे अवस्था छ, उसैलाई नेतृत्व मानेर अगाडि बढौँ ।’
 
बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले हिजोको एमाले बनाउनका लागि अब सबैले मन फराकिलो बनाउनुपर्नेमा जोड दिइन् । ‘आखिर के पाइन्छ ? के फाइदा छ ?  विभाजन गरेर के फाइदा भयो र ? हामी अलग–अलग भएर फाइदा भयो र ? हामी अलग–अलग हुँदा हामीलाई होइन, हामीलाई कमजोर बनाउन चाहनेहरुलाई फाइदा भयो,’ उनले भनिन्, ‘त्यसकारण अब कुनै पूर्वाग्रह बिना, कुनै मनमुटाव बिना, बलियो एमाले, हिजोको एमाले बनाउनका लागि मन फराकिलो बनाउनैपर्छ । 
 
अब छाती फराकिलो बनाउने बेला आएको छ । हिजो जतिसुकै कमजोर भएको भए पनि त्यो कुरा सिद्धियो । अब फेरि पनि यो मुलुकको नेतृत्व गर्ने शक्तिको रुपबाट नेकपा एमालेलाई अघि बढाउनुपर्छ । मलाई यसमा विश्वास छ ।’