इन्द्रध्वजा ठड्याएसँगै उपत्यकामा इन्द्रजात्रा सुरु

आश्विन ०२,२०७८

-आस्था न्यूज

असोज २,२०७८ काठमाडौं । 
काठमाण्डौको वसन्तपुरमा बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा सुरु भएको छ । बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको हो ।
 
हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ । हरेक वर्ष भदौशुक्ल द्धादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ ।
 
गएको वर्ष कोरोना महामारीका कारण औपचारिक पूजा गरेर मात्रै मनाइएको जात्रा यो वर्ष भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइने भएको छ । अभियन्ता गणपतिलाल श्रेष्ठले गुठी संस्थाबाट आउने व्यक्तिले मात्रै रथ तान्ने जानकारी दिनुभयो ।
 
संस्थाले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिलाई मात्रै खटाउनेछ । १८ वर्षमुनिका बालबालिका, किशोरकिशोरी, वृद्धवृद्धा, खोप नलगाएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिलाई जात्रामा छुट्टै राखिनेछ ।
 
आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्दछन् ।
 
आज बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्ज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गर्ने गर्दछन् ।