मापदण्डविपरीत अवैतनिक दूतहरुलाई दिएको सुविधाप्रति संसदीय समितिको चासो

पौष २७,२०७८

-आस्था न्यूज

पुस २७, २०७८ काठमाडौं ।
अवैतनिक वाणिज्य दूतहरूलाई मापदण्डविपरीत सरकारले दिएको सुविधाप्रति संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो दिएको छ । समितिले दुई वर्षअगाडि निर्देशन दिएपछि परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट अवैतनिक दूतहरूलाई नीलो नम्बर प्लेट र झन्डा फहराउन रोक लगाइएकामा अहिले फेरि मन्त्रालयले निर्णय उल्ट्याएको छ । मन्त्रालयको नयाँ निर्णयप्रति समितिले चासो राखेको हो ।
 
समिति सभापति पवित्रा निरौला खरेलले अवैतनिक वाणिज्य दूतहरूलाई नीलो नम्बर प्लेट र झन्डा राख्न दिने व्यवस्थाका विषयमा परराष्ट्रमन्त्री नारायण खड्कासँग जानकारी लिइने बताइन् । ‘यसअघि समितिकै निर्देशनमा नीलो नम्बर प्लेट राख्ने र झन्डा राख्ने व्यवस्थालाई परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट हटाइएको थियो तर फेरि मन्त्रीस्तरीय निर्णयबाटै खुला गरिएको छ, यो ठीक होइन,’ उनले भनिन् । दुई वर्षअघि नै यस विषयमा समितिले परराष्ट्र मन्त्रालयलाई विस्तृत रूपमा अध्ययन गरेर मात्र निर्णय गर्न भनेको उनले प्रस्ट पारिन् ।
 
परराष्ट्रमन्त्री नारायण खड्काले कूटनीतिक विशेषाधिकार दुरुपयोग गरेको भन्दै आलोचित अवैतनिक वाणिज्य दूतलाई सवारीसाधनमा नीलो नम्बर प्लेट र झन्डा फहराउने व्यवस्था ब्युँताएका हुन् । 
 
नेपालका लागि किर्गिस्तानका तत्कालीन अवैतनिक दूत सुलभ अग्रवाल कालोबजारीको कसुरमा दुई वर्षअघि पक्राउ परेपछि यस्तो व्यवस्था खारेज गरिएको थियो । २०७६ चैत २६ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रीस्तरीय निर्णयबाट त्यस्तो सुविधा कटौती गरेका थिए ।