पूर्वी नाकाबाट ६९ अर्बभन्दा बढीको कृषिउपज निकासी

फाल्गुण ११,२०८०

-आस्था न्यूज

फागुन ११, २०८० काठमाडौं ।
विराटनगर । पूर्वी नाकाबाट तीन महिनाको अवधिमा तीन अर्ब ६९ करोडभन्दा बढीको कृषि उपज निकासी भएको छ ।
 
झापाको काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु, जडिबुटीलगायत गरी २५ हजार ४० मेट्रिकटन सामग्री निकासी भएको हो ।
 
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार कृषि उपजसहितका वस्तु मुख्य रुपमा भारत, बंगलादेशलगायत मुलुकका लागि निकासी भएका हुन् ।
 
उल्लेखित परिमाणमध्ये सबैभन्दा बढी चिया निकासी भएको तत्यांक छ । कात्तिकदेखि पुससम्मको अवधिमा एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको कार्यालयले जनाएको छ ।
 
यसबाहेक अलैँची, अम्लिसो, प्लाइउड र अदुवाजस्ता सामग्री निकासी भएको हो ।
 
यो अवधिमा ९८ करोड ९६ लाखभन्दा बढीको अलैँची निकासी भएको छ भने ५३ करोड १२ लाख ६५ हजारको १५ हजार मेट्रिक टनभन्दा बढी प्लाइउड निकासी भएको छ ।
 
यसैगरी, ३० करोड ४६ लाख ४० हजारको दुई हजार ३८० मेट्रिकटन अदुवा र १३ करोड ८१ लाख २० हजारको एक हजार १५१ मेट्रिक टन अम्लिसो निकासी भएको तथ्यांक छ ।
 
यस्तै, एक करोड ७२ लाख ६२ हजारको १२६ मेट्रिकटन मुसुरो दाल, २० लाख ४८ हजारको १२८ मेट्रिकटन बन्दाकोभी र २९ हजारको दुई मेट्रिक टन मूला भारत निर्यात भएको उक्त कार्यालयले जनाएको छ । 
 
जडिबुटी निकासी पनि उल्लेख्य देखिएको छ । उक्त अवधिमा ९४ लाखको ४७ मेट्रिक टन चिराइतो, एक लाख बराबरको एक मेट्रिक टन पिपला, दुई लाख ९५ हजारको अढाइ मेट्रिक टन अमला निकासी भएको छ ।
 
यसैगरी, दुई लाख ५० हजारको दुई मेट्रिक टन मजिटो, एक लाख ९८ हजारको दुई मेट्रिकटन सुगन्ध कोकिल, तीन लाख ५० हजारको १० मेट्रिकटन धूपी, ६ लाख ९० हजार ६ मेट्रिकटन पदमचाल र ३९ हजारको एक मेट्रिकटन चुत्रो निर्यात भएको क्वारेन्टिाइन कार्यालयले जनाएको छ ।