दुर्गा प्रसाईका गार्डलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ।
 
समितिमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन्। गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन्। 
 
सर्वोच्च अदालतको आदेश अनुसार उक्त समिति गठन गरिएको हो। सर्वोच्चले गोलीसहित पक्राउ परेका उनका बडिगार्डलाई रिहा गर्न आदेश गर्दै हतियारको अनुमति शंकास्पद देखिएकाले छानविन गर्न भनेको थियो।
 
प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षागार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए। त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए।
 
छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। हतियार इजाजतपत्र र नवीकरण सम्बन्धमा छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यदेश दिइएको छ।