दलमा आबद्ध शिक्षकहरूलाई कारबाहीका लागि शिक्षा मनत्रालयको परिपत्र

बैशाख ०५,२०८१

-आस्था न्यूज

वैशाख ५, २०८१ काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध शिक्षकहरूलाई कारबाहीका लागि परिपत्र गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै मन्त्रालयले कारबाहीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो ।
 
मन्त्रालयले राजनीतिक दलको सदस्यता लिएका तथा दलमा आबद्ध भएका शिक्षकहरूको अनुमानित विवरण तयार पारेर केन्द्रलाई पठाएको हो । शिक्षा मन्त्रीको सचिवालयका अनुसार कानुनी व्यवस्थाअनुसार नै दलमा आबद्ध शिक्षकमाथि अनुसन्धान गर्न र आबद्धता पाइएमा कारबाही गर्न लेखि पठाएको हो ।
 
शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ ङ को उपदफा ५ को खण्ड छ मा ‘शिक्षक वा कर्मचारी राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने’ व्यवस्था छ । त्यस्तै शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १३८ को उपनियम १ मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
 
शिक्षा नियमावली, २०५९ (संशोधन सहित)को नियम १४३ को उपनियम १ को खण्ड घ बमोजिम सेवाबाट हटाउने वा बर्खास्त गर्ने अधिकार प्रदेश सरकारको शिक्षा विषय हेर्ने मन्त्रालय मातहतमा रहेको प्रदेश शिक्षा विकास निर्देशनालयको निर्देशकलाई दिइएको छ ।
 
सोही कानुन प्रावधानमा रहेर दलका शिक्षकलाई कारबाहीको प्रक्रिया अगाडि बढेको हो । केन्द्रले मन्त्रालयबाट आएको विवरणका आधारमा अनुसन्धान गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्नेछ । र इकाइले अनुसन्धान गरेपछि दलमा आबद्धता देखिएको खण्डमा कारबाहीका लागि प्रदेश शिक्षा निर्देशनालयलाई परिपत्र गर्नेछ । सोही आधारमा निर्देशनालयले दलमा आबद्ध शिक्षकहरूलाई सेवाबाट बर्खास्त गर्ने वा हटाउन सक्ने कानुनी व्यवस्था छ ।