कञ्चनपुरमा आगलागीबाट सात बिघा भन्दा बढि जमिनमा लगाइएको गहुँ नष्ट

बैशाख ०७,२०८१

-आस्था न्यूज

बैशाख ७, २०८१ काठमाडौं ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।
 
दोधारा चाँदनी-७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए । 
 
आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छु, बस्नेतले भने,स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।
 
भित्र्याउने बेलाको गहुँ खेतमै जल्यो
कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ । जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो ।
 
आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ । तेह्र कठ्ठा जमिनमा लगाएको बाली नष्ट भएपछि चौधरीको परिवार पीडामा छ ।  
 
स्थानीयका अनुसार बिजुलीको तार गहुँखेतमा लत्रिएका कारण आगलागी भएको हो । आगो स्थानीय बासिन्दा, प्रहरी र टीकापुरको दमकलको सहायतामा निभाइएको थियो । 
 
 यसैगरी, भजनी नगरपालिका वडा नं ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ ।