कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । 
 
२७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलाएर विश्वासको मत लिन लागेका हुन् । भागबन्डा मिलेपछि बुधबारमात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विना विभागीय मन्त्री नियुक्त गरे । माओवादी केन्द्रले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । 
 
४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भइसकेको छ ।