धर्मलाई कसरी बुझ्ने ? वास्तविक धर्मका तथ्य !

धर्म अनन्त र अज्ञात रहस्य हो l यसको खोजबाट नै जन्म , मृत्यु र जीवनलाई सहि अर्थमा जान्न सकिन्छ

बैशाख १४,२०७६

-पारस पोखरेल

 

धर्म नमान्ने र धर्म प्रति चासो नराख्ने मानिस सायद भेट्न कठिन होला l कोहि न कोहि कुनै न कुनै धर्म संग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राय जुडेकै हुन्छ र यसलाई अङ्गीकार गरेकै हुन्छ l यसमा पनि सबैले आ-आफ्नो धर्मलाई उत्कृष्ट भन्दै साबित गर्ने प्रयास गर्दछन नै l जनावर र चराचुरुङ्गीमा जस्तो संसारमा मानिसको छुट्टा छुट्टै प्रजाती भने छैन l एउट्टै प्रजातिको मानिसहरु बिचमा नै किन यसरी धर्म र यसको मूल्यमान्यताहरु भने फरक-फरक भएको होला ? मानिसहरु बीच विभाजित प्रचलित धर्म बास्तबमा के हो र यो किन फरक छ र यसमा पनि कुन धर्म सबैभन्दा ठिक हो त ? सबैको मनमा जिज्ञासा उठ्नु स्वाभाविक नै हो l यसको सहि उत्तर खोज्न हामीले जमर्को गरेका छौ l यसका लागि सर्वप्रथम हामीले भन्ने गरेको , बुझेको र मान्यता दिएको धर्म आफैमा के हो भन्ने कुरा जान्नु जरुरी हुन्छ l

 

धर्मलाई अंगेजीमा रिलिजन (religion) र उर्दूमा मजहब भन्ने गरिन्छ l सामान्य बुझाईमा एकै भएपनि शाब्दिक र व्यवहारिक अर्थमा हेर्ने हो भने धर्म , रिलिजन र मजहब बिचमा ठुलो भिन्नता रहेको पाहिन्छ l रिलिजनको समानार्थी रूप विश्वास, आस्था वा मत भन्ने रहेको छ, त्यस्तै मजहबको अर्थ सम्प्रदाय रहेको छ l यसर्थ धर्मलाई रिलिजन (religion) र मजहब संग दाजेर बुझ्नु त्यति सान्दर्भिक हुदैन l रिलिजन (religion) र मजहबका केहि व्यवहारिक पक्ष र गुण धर्म संग केहि हदसम्म मेल खाएता पनि यसैको आधारमा धर्म भनेकै रिलिजन (religion) र मजहब हो भन्नु वास्तविकता होईन l

 

'धर्म' शब्दको पश्चिमी भाषाहरुमा तुलना युक्त शब्द भेटिन कठिन छ l साधारण शब्दहरुमा धर्मको धेरै अर्थ लाग्ने गर्दछ जस्तै कर्तव्य, अहिंसा, न्याय, सदाचरण, सद्-गुण आदि।

 

 

त्यसो भए के हो त धर्म ? के हो त यसको वास्तविक अर्थ ? हिन्दु सनातन सिद्धान्तले मानव जीवन पद्धतीमा धर्म, अर्थ, काम र मोक्ष चार अत्यावश्यक गुण  रहेको बताएको छ l जसमा धर्म पहिलो स्थानमा रहेको छ l यसर्थ प्रत्यक मानिसमा सर्व प्रथम धर्म आवश्यक भएको र त्यस पछि मात्र  अर्थ, काम र अन्त्यमा मोक्ष रहेको बुझ्न सकिन्छ l

 

धर्मलाई परिभाषित गर्नु त्यत्तिकै कठिन छ जति ईश्वरलाई l त्यसैले यसको लक्षण र गुणलाई धारणा गरेर गरिने सत्कर्म नै धर्म हो र यसैको माध्यमले जीवनको रहस्य र ईश्वरीय सत्ता , स्वभाव र शक्तिलाई बुझ्न सकिन्छ l धर्मो रक्षति रक्षितः।

 

मानव जीवनमा सर्वप्रथम आवश्यक पर्ने धर्मको बारेमा भन्नु पर्दा धर्म भन्ने शब्द संस्कृतबाट आएको संस्कृत शब्द हो l धर्मको अर्थ व्यापक रहेको छ । ध + र् + म = धर्म। ध देवनागरी वर्णमालाको १९ औ अक्षर र  तवर्गको चौथो व्यंजन हो । भाषाविज्ञानको दृष्टिले यो दन्त्य, स्पर्श, घोष तथा महाप्राण ध्वनि हो । संस्कृत (धातु) धा + ड विशेषण- धारण गर्ने , समाउने खालको हुन्छ । यसर्थ जुन धारण गर्न योग्य छ त्यो नै धर्म हो भन्ने बुझिन्छ । जस्तै कुनै नियमको धारणा गर्नु , अर्थात धारयति- इति धर्म:!। अर्थात सबैले धारणा गरेका छन् त्यो नै धर्म हो l उदाहरणको लागि पृथ्वीले समस्त प्राणिहरुलाई धारण गर्नु l

 

त्यसोभए के धारण गर्नु नै धर्म हो त ? फेरी प्रश्न उब्जन सक्दछ l किनकि धारण गरेका सबै कुरा सहि नहुन पनि सक्दछ , कुनै गलत हुन् पनि सक्दछन् l सबै मानवीय स्वभाव धर्म हुदैनन् तर उसको वास्तविक मानवीय गुणले धर्मलाई दर्शाउछ l मानवीय धर्म , दर्शन र अध्यात्म फरक कुरा हुन् l त्यसैले धर्मलाई बुझ्न यसको स्वभाव , गुण र लक्षणलाई चिन्नु र बुझ्नु जरुरी हुन्छ l

 

महर्षि मनुले धर्मको दश लक्षण यस्तो रहेको बताएका छन् :-

धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः।

धीर्विद्या सत्यमक्रोधो, दशकं धर्मलक्षणम् ॥

(धृति (धैर्य), क्षमा ( क्षमाशील हुनु ), दम (आफ्नो वासनाहरु माथि नियन्त्रण गर्न सक्नु ), अस्तेय (चोरी नगर्नु ), शौच (शरीर, मन एवं बुद्धिलाई पवित्र राख्नु , अन्तरिक र बाहिरीकुरालाई त्याग्नु ), इन्द्रिय निग्रहः (इन्द्रियहरुलाई बसमा राख्नु ), धी (बुद्धिमानी हुनु ), विद्या (ज्ञान आर्जन गर्नु ), सत्य (मन, वचन र कर्मबाट सत्यको पालन गर्नु ) र  अक्रोध (क्रोध नगर्नु ); यो दश धर्मको लक्षण हो।)

 

प्राय धर्म भनेकै धर्मको नियमलाई पालना गर्नु हो पनि भन्ने गर्दछन् जस्तै : ईश्वरको स्मरण ,  बन्दना स्तुति , व्रत,  चार धामको तिर्थ , दान, कुम्भ मेला , पर्व , पन्च यज्ञ, सेवा कार्य, पूजा पाठ, १६ संस्कार र  धर्म प्रचार आदि।... तर माथि उल्लेखित धर्मको गुण धारणा नगरी गरिने कुनै पनि कार्य धर्म हुन् सक्दैन l चाहे त्यो जति ठुलो परिणामको दान दक्षिणा र कठोर बर्त ,तपस्या र सेवा नै किन नहोस l यसर्थ धर्मका लागि सत्य, अहिंसा, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह, शौच, संतोष, तप, स्वाध्याय, क्षमा आदि।.. गुणको धारणा गर्नु अपरिहार्य रहन्छ l

 

संसारमा विभिन्न सम्प्रदायहरुले धर्मलाई आ-आफ्नो धारणा र विचारका आधारमा परिभाषित गरेका छन् l तै पनि बैदिक ऋषिहरुले दिएको परिभाषा वास्तविक रुपमा धर्मको गुणसंग मेलखान जान्छ र त्यो नै उपयुक्त रहेको छ भन्न सकिन्छ  l हिन्दू सनातन सम्प्रदायमा धर्मलाई जीवन संगै धारण गर्ने , बुझ्ने र यसलाई अझ परिष्कृत गर्दै लाने बिधि भनेर बताईएको छ ।

 

वास्तवमा, धर्म मूल स्वभावको खोज हो । धर्म एक रहस्य हो , संवेदना हो , संवाद हो र  आत्माको खोज हो । धर्म स्वयंको  खोजको अर्को नाम हो । जब हामी धर्म भन्छौ त्यो  ध्वनीत हुन्छ को केहि छ जसलाई जान्न जरुरी छ l कुनै रहस्य वा शक्ति छ । धर्म अनन्त र अज्ञात रहस्य हो l यसको खोजबाट नै जन्म , मृत्यु र जीवनलाई सहि अर्थमा जान्न सकिन्छ l तसर्थ : सृष्टि र स्वयंको रहस्य र हित साथै विकासको लागि गरिने सबै खाले सुकर्म नै धर्म हो भन्न सकिन्छ l किनकि कुनै पनि बस्तुको उसको स्वाभाविक गुणलाई नै धर्म भनिएको छ जस्तै : अग्निको धर्म उसको गर्मी र तेज l गर्मी र तेज बिना अग्निको कुनै अस्तित्व हुदैन l अत: मनुष्यको स्वाभाविक गुण भनेको महर्षि मनुले धर्मको दश लक्षणयुक्त मानवता हुनु हो । यो नै उसको वास्तविक धर्म हो न की उसको स्वभाव ।

 

कुरानले भन्छ  – मुस्लिम बन।

बाइबलले भन्छ  – ईसाई बन।

तर वेदले भन्ने गर्छ  – मनुर्भव अर्थात मनुष्य बन् (ऋग्वेद १० -५३ -६)।

 

धर्मलाई परिभाषित गर्नु त्यत्तिकै कठिन छ जति ईश्वरलाई l त्यसैले यसको लक्षण र गुणलाई धारणा गरेर गरिने सत्कर्म नै धर्म हो र यसैको माध्यमले जीवनको रहस्य र ईश्वरीय सत्ता , स्वभाव र शक्तिलाई बुझ्न सकिन्छ l धर्मो रक्षति रक्षितः।