युएई जाने श्रमिकले म्यानपावर कम्पनीलाई शुल्क तिर्न नपर्ने

कार्तिक १९,२०७६

-

कार्तिक १९,२०७६ काठमाडौं ।
रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैयाँ पनि तिर्न नपर्ने भएको छ।
 
काठमाडौंमा सोमबार सम्पन्न नेपाल-युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी (एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैयाँ पनि तिर्नु नपर्ने भएको हो। त्यहाँ जाँदा लाग्ने सबै खर्च अब रोजगारदाता आफैंले बेहोर्ने छ।
 
युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको छ। ६ महिनाअघि दुई देशबीच भएको  समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरूले छलफल गरेका थिए। यस्तो सहमति नेपालले २०७५ को कात्तिक १२ मा पहिलोपटक मलेसियासँग गरेको थियो।
 
मलेसियासँगको सहमतिपछि नेपालले अन्य गन्तव्य मुलुकसँग शून्य लागतमा कामदार पठाउन एमओयूको पहल गरिरहेको छ। मन्त्रालयले अर्को मुलुक मरिसससँग पनि शून्य लागतमै कामदार पठाउने सहमति गरेको छ।