राष्ट्र बैङ्कले कोरोनाले समस्यामा परेका व्यवसायलाई तत्काल २ खर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण प्रवाह गर्ने

जेठ २०,२०७७

-

जेठ २०, २०७७ काठमाडौं ।
कोभड-१९ का कारण समस्यामा परेका व्यवसायलाई तत्काल २ खर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैङ्कले त्यस्तो प्रावधान सहितको बहुप्रतिक्षित पुनर्कर्जा कार्यविधि स्वीकृत गरि सोमबार सार्वजनिक गरेको हो । 
 
उक्त कार्यविधि अनुसार अब १ वर्षका लागि बैङ्कहरुबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण पाइनेछ । त्यस्तो ऋणको शोधभर्ना बैङ्कहरुलाई राष्ट्र बैङ्कले गर्नेछ ।
 
उक्त कार्यविधिमा पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम (एसएमई) पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी ३ भागमा बर्गिकरण गरेको छ । यसअघि साधारण पुनर्कर्जा र विशेष पुनर्कर्जा गरी दुई भागमा मात्रै यसको बर्गिकरण हुन्थ्यो । पुनर्कर्जाको प्रकृति अनुसार ऋण रकम र ब्याजदर फरक फरक हुने व्यवस्था गरिएको छ ।
 
राष्ट्र बैङ्कको प्रावधान अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । सो कर्जाबापत बैङ्कहरुले ऋणीसँग ५ प्रतिशत ब्याज लिन पाउनेछन् । राष्ट्र बैङ्कले बैङ्कहरुलाई २ प्रतिशत ब्याजदरमा त्यस्तो ऋण उपलब्ध गराउनेछ ।
 
त्यस्तै, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जाको सीमा १० करोड रुपैयाँ तोकिएको छ । यद्यपि औद्योगिक व्यवसाय ऐन अनुसार प्राथमिकताप्राप्त उद्योगहरुका लागि २० करोडसम्मको पुनर्कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ । 
 
विशेष पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत र साधारण पुनर्कर्जाको ब्याजदर ५ प्रतिशत हुनेछ । यस्तो ऋण राष्ट्र बैङ्कले बैङ्कहरुलाई क्रमशः १ प्रतिशत र ३ प्रतिशत उपलब्ध गराउनेछ ।