मोदिले पशुपतिनाथ र मुक्तिनाथको सत्यको मार्गलाई बिर्सन मिल्दैन्:श्रेष्ठ

भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने नेकपाका प्रवक्ता श्रेष्ठको माग

जेठ २०,२०७७

-

जेठ २०,२०७७ काठमाडौं ।
 
नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशीर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै श्रेष्ठले मोदी आत्धात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिँड्ने शक्ति लिन आग्रह गरे ।
 
अतिक्रमणकारी प्रवृतिलाई सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल भारत सम्बन्धलाई सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन पनि उनले मोदीलाई आग्रह गरे । श्रेष्ठले भने, यो बेलामा पशुपतिनाथसँग, मुक्तिनाथसँग तपाईंको आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा तपाईंले आराधना गर्नुहोस् । तपाईं शक्ति लिनुहोस् । तपाईंले आशीर्वाद लिनुहोस् र यस्तो तपोभूमि, यस्तो पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिँदैनौ भनेर सच्चिनुहोस् ।’
 
त्यस्तै श्रेष्ठले विगतमा अतिक्रमणकारी, र कब्जा गर्ने प्रवृत्ति सच्याउँदै सत्यको पक्षमा उभिन पनि भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरे । उनले भने, ‘हिजोको जुन अतिक्रमणकारी, कब्जा गर्ने प्रवृति रह्यो त्यसलाई सच्याएर सत्यको पक्षमा उभिन्छौँ र नेपाल–भारत सम्बन्धको सम्बन्ध सुधार गराउँछौँ । इतिहासको निरन्तरतामा देखिएको प्रवृतिमाथि विजयी प्राप्त गछौँ भनेर सोच्नु भएको भने तपाईं बधाई र धन्यवादको पात्र हुनुहुनेछ । नेपाल भारतको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सहयोग हुनेछ । तपाईंजस्तो आध्यात्मिक व्यक्तिलाई आग्रह गर्न चाहन्छौँ ।’
 
नेकपाका सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले इतिहासका तथ्यहरु टेबुलमा राखेर समस्या समाधानका लागि नेपाल तयार रहेको पनि बताए । तथ्य र प्रमाणसहित समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।
 
उनले उत्तरी छिमेकी चीन असल छिमेकी भए पनि सन् २०१५ मा भारतसँग गरेको एक व्यापारिक सम्झौताले नेपालको चित्त दुखेको बताए । चीनले नेपालको सार्वभौमिकता अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्ने र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृति नदेखाएको कारणले हामी सम्मान गर्छौँ । तर यो सन्दर्भमा चीनलाइ पनि अनुरोध छ नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा जानरअन्जान आँच पुग्ने वा बल पुग्ने काम चीनको तर्फबाट हुनुहुँदैन उनले भने, २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा भएको सम्झौताको आत्मसमिक्षा गर्न आग्रह गर्दछु ।
 
प्रवक्ता श्रेष्ठले ईपीजी समूहले सहमतिमा नेपाल भारत सम्बन्ध, समस्या र समाधानका विषयमा तयार पारेको प्रतिवेदन भारतले बुझ्न नमानेकोमा पनि दुःख व्यक्त गरे । प्रवक्ता श्रेष्ठले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने मागसमेत गरेका छन् ।