तरकारी तथा फलफुल नष्ट र अबरोध गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र

जेठ २०,२०७७

-

जेष्ठ २०,२०७७ काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार पत्र पठाउँदै कृषि मन्त्रालयले कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेमाथि कारबाहीको माग गरेको हो । 
 
यसअघि पटक-पटक आग्रह गरिए पनि कृषि उपजको उत्पादन, ढुवानीमा अवरोध भएको भन्दै कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र नै लेखेको हो । “कृषि उपज नष्ट गर्ने अवान्छित क्रियाकलापले कृषकहरुको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपुर्ति शृङ्खला अवरुद्ध हुन गई खाद्य संकटको अवस्था हुन सक्नेछ”, पत्रमा उल्लेख छ ।
 
कपिलवस्तुबाट अर्घाखाँची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको छ । उक्त कार्यको सञ्चार माध्यम एवम् सामाजिक सञ्जालहरुमा तीव्र बिरोध भइरहेको छ ।
 
कृषि मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कारबाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिन मात्रमार्फत आग्रह गरिएको छ । 
 
अर्घाखाँचीमा जस्तै पोखरा महानगरपालिकाले पनि अन्यत्रबाट आएको तरकारी रोक लगाएको छ । कर्णाली प्रदेशले त अरु ठाउँबाट सबै खाद्य वस्तु रोक लगाउने निर्णय नै गरेको छ ।