ओली-प्रचण्डको वार्ता आज पनि निष्कर्षविहिन

श्रावण १९,२०७७

-

साउन १९,२०७७ काठमाडौं ।
 
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्ता पनि निष्कर्षविहिन भएको छ ।
 
प्रधानमन्त्रीको निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी भएको करिव २ घण्टाको वार्ता विना निष्कर्ष सकिएको हो ।
 
जनैपूर्णिमाको शुभकामना आदान प्रदान गरी वार्ता प्रारम्भ गरेका नेताद्वयले आ-आफ्ना अडान कायमै राखेको बताइएको छ ।
 
आजको वार्तामा प्रचण्डले ओलीलाई नेताहरूको व्यवस्थापनका लागि र सरकार एवं पार्टीको काम प्रभावकारी बनाउन निकास दिन आग्रह गरेकोमा ओलीले महाधिवेशनअघि सरकार र पार्टीको नेतृत्व नछाड्ने आफ्नो पूरानै अडान दोहोर्‍याएको स्रोतले जनाएको छ । त्यसअतिरिक्त ओलीले स्थायी कमिटीका लागि तय गरिएका एजेण्डाभन्दा बाहिर गएर समस्या सृजना गरिएकोमा पनि आपत्ति जनाएको बताइएको छ ।
 
छलफल निचोडमा नपुगेपछि भोलि फेरि वार्तामा बस्ने समझदारीपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । साउन १३ को स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रूपमा स्थगित गरेपछि संवादहिनको अवस्थामा पुगेका ओली र दाहालबीच आइतबार पनि तीन घण्टा वार्ता भएको थियो ।
 
एक व्यक्ति एक पदको एजेण्डा चर्काउँदै प्रचण्ड(माधव समूहले ओलीलाई सकेसम्म दुबै पद नत्र कम्तिमा एक पदबाट राजीनामा गर्न दबाब दिएपछि स्थायी कमिटी बैठक अघि बढ्न सकेको छैन ।
 
असार १० गते सुरू भएको स्थायी कमिटी बैठकमा एजेण्डामा नभएको विषयलाई बैठकमा प्रवेश गराएको भन्दै ओली पक्षीय नेताहरूले विरोध गर्दै आएका छन् ।
 
ओलीले बैठक चलिरहेकै बेला सार्वजनिक कार्यक्रमार्फत भारतको निर्देशनमा नेकपाकै नेताहरू सरकार ढाल्न उद्यत भएको आरोप लगाएपछि उनको राजीनामाको विषय स्थायी कमिटीमा पनि प्रवेश गरेको थियो ।
 
यद्यपि ओलीको राजीनामाको विषय प्रचण्ड(माधव समूहले सरकार र पार्टी सञ्चालनको समीक्षा भन्ने एजेण्डामा माग्ने तयारी गरेका थिए । तर, त्यसअघि नै ओलीले शीर्ष नेतालाई भारतको एजेन्टको अर्थ लाग्ने गरीको आरोप लगाएपछि प्रचण्ड(माधव समूहका नेताहरू ओलीसँग रिसाएका थिए । त्यसयता स्थायी कमिटी बैठक नै भाँडिएको थियो ।
 
ओलीले यहीबीचमा संसद अधिवेशन अन्त्य गरे । उनले अध्यादेश ल्याउने र पार्टी फुटाउनेसम्मको तयारी गरेको आरोप लगाउँदै अर्को पक्ष केही दिन रक्षात्मक देखियो । बैठक नै अघि बढ्न नसकेपछि ओली र प्रचण्ड एक्लाएक्लै वार्तामा बसे । तर, विवादको निकास भएन । बरू यहीबीचमा बसेको सचिवालय बैठकमा अग्रिम महाधिवेशनको विषयले प्रवेश पाएपछि नेकपा विवाद मत्थर हुने ठानिएको थियो ।
 
तर, त्यसमा ओली(प्रचण्डबीच भएको भनिएको सहमति २४ घण्टा नबित्दै उल्टिएपछि नेकपाको विवाद स्थायी कमिटी बैठक सुरू हुनु पूर्वकै अवस्थामा पुगेको छ ।