बारामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

श्रावण २९,२०७७

-

साउन २९,२०७७ काठमाडौं ।
बारामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 
नारायणी अस्पतालका डा. उदय नारायण सिंहका अनुसार आईसीयूमा उपचाररत दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो ।
 
बारा सिमरा घर भएका ५० वर्षीय एक पुरुष र बारा पर्सौनी गाउँपालिकाका ६५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको सिंहले बताए ।
 
डा सिंहका अनुसार ५० वर्षका पुरुषमा पहिला देखि नै मधुमेह र उच्च रक्तचापको समस्या थियो । ज्वरो,खोकी र श्वासप्रश्वास समस्या भएका उनी हिजो दिउँसो नारायणी अस्पतालको आईसीयुमा भर्ना भएका थिए ।
 
उनको आज बिहान ८ः३० बजे मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट बिहान ११ बजे पोजेटिभ आएको डा सिंहको भनाइ छ ।
 
यस्तै अर्का ६५ वर्षीय पुरुषमा पनि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । उनलाई आज बिहान साढे ३ बजे अस्पताल भर्ना गरिएमा  बिहान करिब साढे आठ बजे मृत्यु भएको डा. सिंहले बताए ।
 
ती पुरुषको पनि मृत्युपछि नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको डा सिंहले बताए ।
 
अस्पतालले उनीहरु दुबैजनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।
 
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ रहेको छ ।