अमेरिकी राष्ट्रपति निर्वाचनमा कुनै धाँधली छैन, परिणाम स्वीकार्न ट्रम्पलाई सुझाव

मंसिर १७,२०७७

-

मंसिर १७, २०७७ काठमाडौं ।
अमेरिकी महान्यायाधीवक्ताको कार्यालयले हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ ।
 
राष्ट्रपति पदमा पराजित डोनाल्ड ट्रम्पले आफ्नो पकड भएका विभिन्न राज्यमा धाँधली गरेर पराजित गरेको भन्दै निर्वाचनको परिणाम स्वीकार नगर्ने बताइरहेका बेला महान्यायाधीवक्ताको कार्यालयको यस्तो भनाइ आएको हो ।
 
अमेरिकी न्याय विभागका महान्यायाधीवक्ता विलियम वारले आफ्नो विभागले निर्वाचनविरुद्ध ट्रम्पले लगाएको आरोप पुष्टि गर्ने कुनै आधार नभएको स्पष्ट पार्नुभयो ।
 
उहाँले ट्रम्पले आफू अनुकल नतिजा नआएपछि लगाएको आरोपको पुष्टि गर्ने कुनै आधार नभएको दावीसमेत गर्नुभयो ।
 
आफ्नो पराजय स्वीकार नगर्ने यसअघि नै ट्रम्पले बताएपनि निर्वाचनमा अनियमितता नभएकाले नतिजा स्वीकार्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।
 
गत महिना मतदानको प्रक्रिया सुरु भएदेखि नै ट्रम्पले अनियमितता भएको भन्दै परिणाम आफ्नो पक्षमा नआए अदालत जाने बताउनुभएको थियो ।
 
तर राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि अदालतले उहाँको अपीलको सुनुवाइ गर्न अस्वीकार गरेको छ ।
 
ट्रम्पले बाइडेनर्लाइ विजयी गराउन विदेशी चलखेल भएकोसमेत आरोप लगाउँदै आउनुभएको छ । अमेरिकामा निर्वाचनमा विदेशी सहयोग लिनुलाई गैरकाननुनी मानिन्छ ।
 
यसअघि सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले आफ्नो पक्षमा मत परिणाम ल्याउन रुससँग विभिन्न सहयोग लिएको भन्दै व्यापक आलोचना भएको थियो ।
 
त्यस बेला चुनावमा सहयोगका लागि भएका टेलिफोन संवादहरु पनि सार्वजनिक भएका थिए । एजेन्सी