प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने

माघ १०,२०७७

-

माघ १०, २०७७ काठमाडौं ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरुसँगको कुराकानीमा पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले सत्ताधारीको विपक्षमा बस्ने प्रतिपक्षीको धर्म निर्वाह गर्ने बताएका हुन् ।
 
प्रदेश १ र वाग्मती प्रदेशस्थित प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
 
वाग्मती प्रदेशमा अविश्वासको प्रस्ताव टेबुल भइसकेको छ भने प्रदेश १ मा बुधबार हिउँदे अधिवेशन सुरु भएर अनिश्चितकालका लागि सदन स्थगित गरिएको छ । ‘केन्द्र र प्रदेश दुबै ठाउँमा कांग्रेसले प्रतिपक्षीको धर्म निर्वाह गर्नेमा शंका गर्नु पर्दैन,’ उनले भने, ‘प्रदेशसभामा अविश्वासको प्रस्ताव आएपछि सत्ताधारीको विपक्षमा कांग्रेसले भोट हाल्छ ।’
 
कांग्रेसले प्रदेशसभामा अविश्वासको पक्षमा मतदान गरेपछि प्रदेश १ का मुख्यमन्त्री राई र वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रदेशसभामा सिद्ध हुने र पदमुक्त हुने अंक गणित छ । पौडेलले कांग्रेसका लागि यतिबेला दोहोरो संकट आएको बताए ।
 
पार्टी सभापति शेरबहादुर देउवा पनि महाधिवेशन गराएर पार्टीको विधान र संविधान जोगाउने पक्षमा रहेको पौडेलको भनाइ थियो । पार्टीको निर्णयविरुद्ध कोही दायाँबायाँ नजाने उनले विश्वास व्यक्त गरे ।