अब खरका छाना भएका घर फोटोमा मात्रै देखिनेछन्ः प्रधानमन्त्री ओली

फाल्गुण १८,२०७७

-आस्था न्यूज

फागुन १८,२०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फुस (खर) का छाना भएका घरलाई अब टिन (जस्ता) का छानाका घरले विस्थापित गर्ने बताएका छन् । देशैभर फुसका छाना भएका घर विस्थापनमा सरकारले अभियानै सुरु गरेको जनाए । 
 
झापाको विर्तामोड–७ गरामनीमा ३७ विपन्न परिवारका लागि निर्मित आवास गृहको मंगलबार उद्घाटनपछि बोल्दै ओलीले सबै फुसका छानाका घरलाई टिनका छानाबाट विस्थापित गराउने अभियान देशभरी चलाउन सरकार लागेको बताए ।
 
‘फुसका छाना विस्थापनका लागि सरकारले बजेट पठाउँछ, तपाईंहरुले अगुवाई गर्नुहोस्’, स्थानीय सरकारलाई ओलीले निर्देशन दिए । घर, जमिन नभएकालाई सरकारले बनाएर दिने, बेरोजगारलाई रोजगार दिने सरकारको मुख्य दायित्व रहेको ओलीले बताए ।
 
उनले भूमिहीनहरुको समस्या समाधानका लागि सरकारले आयोग बनाइसकेकाले गरिब, विपन्न र सुकुम्बासीहरुका चिन्ताका दिन गएको उनले जनाए ।
 
अव्यवस्थित रुपमा बसोवास गर्दै आएका ३७ विपन्न परिवारका लागि विर्तामोड नगरपालिकाको संयोजनमा निर्मित आवासका लागि स्थानीय धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले १ विगाह ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । 
 
हेविट्याट नेपालको ८३ लाख र सहारा नेपालको प्राविधिक सहयोग घर निर्माण गरिएको हो । यहाँ चौधरी, कुर्मी र सन्थाल परिवार बस्न थालेका छन् । करिब ७ दशमलब ३ धुरमा निर्माण गरिएको घर निर्माणमा प्रतिघर ४ लाख खर्च जनाइएको छ ।