सरकारमा जाने विषयमा कांग्रेस नेकपाका दुबै पक्षसँग निरन्तर वार्ता र छलफलमा

फाल्गुण २०,२०७७

-आस्था न्यूज

फागुन २०, २०७७ काठमाडौं ।
सरकारमा सहभागी हुने विषयमा तत्काल निर्णय नलिने निष्कर्षमा पुगेको नेपाली कांग्रेस सरकारमा जान तयार देखिएको छ। आफ्नो सहभागिता र सक्रियताबिना नयाँ सरकार बन्‍न नसक्‍ने र संक्रमण झन् लम्बिने विश्लेषण गर्दै कांग्रेस सरकारमा जान तयार देखिएको हो। 
 
कांग्रेस नेतृत्वले नेकपाको प्रचण्ड - माधव पक्षसँग निरन्तर वार्ता गरिरहेको छ भने यो समीकरणमा जनता समाजवादी पार्टी  (जसपा) पनि सकारात्मक देखिएको छ। अविश्‍वास प्रस्तावबाट ओलीलाई हटाएर देउवाको नेतृत्वको नयाँ सरकार बनाउने सम्बन्धमा कांग्रेस, प्रचण्ड - माधव पक्ष र जसपाबीच एक खालको समझदारी बन्दै गरेको कांग्रेसका एक नेताले बताए।  ति नेताले अधिवेशन बस्‍नुअघि नै सबै कुरा स्पस्ट हुने पनि बताए ।
 
बुधबार चितवनमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने अवसर आएमा कांग्रेस जिम्मेवारीबाट नभाग्‍ने बताउँदै सरकारमा जान तयार रहेको स्पष्ट सन्देश दिएका थिए। त्यसैगरी महामन्‍त्री शशांक कोइरालाले पनि  प्रचण्ड -माधव पक्षसँग सहकार्य गरेर कांग्रेसले सरकार बनाउनुपर्ने बताएका थिए। 
 
ओलीसँगको निकटताका कारण सरकारमा जान हुँदैन भनेर अडान लिइरहेका रामचन्द्र पौडेल पक्ष पनि प्रचण्ड-माधव पक्षसँग सहकार्य गर्नेमा सकारात्मक देखिएको छ । पौडेलले बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्ड-माधव पक्षसँग सहकार्य गर्नुपर्ने धारणा राखेका छन्। यो बीचमा देउवा र पौडेल बसेर पटकपटक यसबारेमा छलफल गरेका छन् । 
 
सरकारको नेतृत्व छोड्नु हुँदैन भन्‍ने निष्कर्षमा दुवै नेता पुगेका छन् । यही विषयमा छलफल गर्न देउवाले बूढानीलकण्ठमा बिहीबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन्। सत्ता समीकरणको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा शुक्रबार बस्ने कांग्रेस संसदीय दलको बैठकमा छलफल हुँदैछ ।