आईसीसी क्रिकेट वर्ल्डकप लिग टूः ओमानमाथि नेपालको ७ विकेटको जित

आश्विन ०३,२०७८

-आस्था न्यूज

असोज ३,२०७८ काठमाडौं ।
बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ ।
 
घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।
 
१६ रन जोड्दा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र र आशिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझदोरी गरे । शेख व्यक्तिगत ४० रनमा आउट भए ।
 
रोहितकुमार पौडेल मात्र ६ रनमा आउट भए । ज्ञानेन्द्र ५२ र शरद भेषावकर १ रनमा अविजित रहे ।
 
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
 
नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि ओमानका ब्याट्सम्यानहरुले ठूलो साझेदारी गर्न सकेनन् । ३७/४ को अवस्थामा ब्याटिङमा आएका घरेलु टोलीका कप्तान जिसन मक्सुदले एउटा पारी सम्हालेपनि अरु ब्याट्सम्यानहरु टिक्न सकेनन् ।
 
यद्यपि क्रिजमा टिकिरहेका कप्तान मक्सुदले आठौं विकेटका लागि नसिम खुशीसँग २२ र नवौं विकेटका लागि मलिमुल्लाहसँग २० रनको साझेदारी गर्दै स्कोर १०० भन्दा माथि कटाए । उनी ४१ रनमा आउट हुँदा टिमको स्कोर १०६ रन थियो ।
 
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ४र४ विकेट लिए । सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दै १८ रन खर्चिए भने करणले ८ ओभरमा १ मेडन राख्द‌ै २५ रन दिए । शरद भेषावकरले २ विकेट लिए ।