झाडापखालाको रिपोर्ट ३ दिनसम्म आएन, उपचार नियन्त्रणमा समस्या

आश्विन २२,२०७८

-आस्था न्यूज

असोज २२, २०७८ काठमाडौं ।
दुई जनाको ज्यान जाने र ६ सय जनाभन्दा बढी बिरामी पर्ने गरी फैलिएको झाडापखाला प्रकोपको पहिचान गर्न संकलन गरिएको दिसाको रिपोर्ट तीन दिन बितिसक्दा पनि नआउँदा नियन्त्रणमा समस्या भएको छ । मंगलबार संकलन गरिएको दिसाको नमुना बिहीबार बल्ल परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
 
रिपोर्ट आउन थप एक दिन लाग्नेछ । हैजाको आशंका गरिए पनि नियन्त्रण अभावमा बिरामी थपिने क्रम बिहीबार पनि जारी छ । रोगको यकिन पहिचान नहुँदा नियन्त्रणको योजना नै बनेको छैन ।
 
आठ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको छ । बहादुरगन्जस्थित शिवराज अस्पतालमा बिहीबार मात्रै १ सय २५ जना नयाँ बिरामी थपिएका छन् । उनीहरूमा बान्ता, पखाला, पेट दुख्ने र कमजोरी हुने लक्षण छन् । कृष्णनगर नगरपालिकामा दूषित पानीका कारण प्रकोप फैलिएको आशंका छ ।
 
बहादुरगन्जबाट वितरण गरिएको खानेपानीका पाइप ठाउँ-ठाउँमा टुटफुट र लिकेज भएर संक्रमण फैलिएको प्रारम्भिक आकलन गरिएको नगर प्रमुख रजतप्रताप शाहले बताए । रोगको पहिचान गर्न मंगलबार विभिन्न क्षेत्रका पाँच जनाको दिसाको नमुना संकलन गरी बुटवल पठाइएको थियो ।
 
फिल्डमै खटिएका एक स्वास्थ्यकर्मीले भने, ‘रिपोर्ट आउन समय लाग्छ, कसरी नियन्त्रण गर्ने रु’ रोग पहिचान नहुँदा नियन्त्रणका लागि कुनै योजना नै नबनेको र प्रभावित गाउँमा पुगेर सचेतना जगाउने काम मात्र भइरहेको उनले बताए ।
 
लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले दूषित पानीकै कारण झाडापखाला फैलिएको बताए । उनका अनुसार पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ । कान्तिपुरमा खबर छ ।