अन्तर्राष्ट्रिय मञ्चहरुमा महत्त्वका आधारमा युक्रेनबारे नेपालले मतदान गरेको छः परराष्ट्र मन्त्रालय

चैत्र ३०,२०७८

-आस्था न्यूज

चैत्र ३०, २०७८ काठमाडौं ।
परराष्ट्र मन्त्रालयले युक्रेनमाथि भएको आक्रमणको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावमाथि महत्त्वको आधारमा मतदान गर्ने गरेको जनाएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालले हालसम्म राष्ट्र संघको निकाय भएको मतदानमा चार पटक युक्रेनको पक्षमा मत दिएको बताएकी छिन् । 
 
‘हामीले युक्रेनमाथि बिनाकारण गरिएको आक्रमणको विरोध गरेका छौँ । हाम्रो निर्णयहरुमा विरोधाभास छैन,’ लम्सालले भनिन्, ‘न्युयोर्क, जेनेभा र भियनामा भएको विभिन्न मतदानमा सहभागी भएका छौँ । 
 
राष्ट्र संघीय मानवअधिकार परिषदको सदस्यबाट हटाउने विषय थियो । त्यसलाई प्राविधिक र प्रगतिगत विषय रूपमा हेरिनुपर्छ । छानबिन नभएर प्रतिवेदन आएको अवस्था पनि होइन । हामीले महत्त्वका आधारमा नीति रहेको छ ।’
 
सम्मेलनमा पत्रकारले युक्रेनमाथि भएको आक्रमणको विषयमा नेपाल सरकार नीतिमा विरोधाभाष देखिएको विषयमा प्रश्न सोधेका थिए । श्रीलंका र पाकिस्तानमा भएको घटनाक्रमलाई पनि नजिक नियालिरहेको प्रवक्ता लम्सालले बताइन् ।
 
‘हामीले त्यस विषयमा नजिकबाट नियालिरहेका छौँ । दुवै सार्कको महत्त्वपूर्ण देश हुन् र हाम्र मित्र राष्ट्र पनि हो,’ लम्सालले भनिन्, ‘जे जस्तो घटना भइरहेका छन् । त्यस्तो आवस्था नआओस् भन्ने हो । हामीले घटनाक्रमबाट शिक्षा लिने हो र आन्तरिक मामिलामा धेरै टिप्पणी गर्नु हुन्न ।’
 
पत्रकार सम्मेलनमा लम्सालले नेपाल र पाकिस्तान दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन चाँडो गर्न उत्सुक रहेको बताइन् । ‘चेयरको जिम्मेवारी चाँडो हस्तान्तरण गर्न चाहन्छौं र पाकिस्तान पनि उत्सुक रहेको छ । पहिले पनि पाकिस्तानले सम्मेलनको तयारी गरेको थियो । म त्यहीबाट राजदूत भएर आएको हुँ,’ लम्सालले भनिन्, ‘सार्कको बडापत्रमा सम्मेलन हुन सबै देश सहमति हुनुपर्ने व्यवस्था रहेको छ ।’