सवारी खरिदका लागि प्रहरी र सशस्त्रले मागे ५ अर्ब ३० करोड बजेट

भाद्र ०२,२०७९

-आस्था न्यूज

भदौं २, २०७९ काठमाडौं ।
सवारी साधन खरिदका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बजेट माग गरेका छन्। धेरै युनिटहरु सवारी साधनविहीन भएको भन्दै प्रहरी र सशस्त्रले गृहमन्त्रालयमा सवारी साधन खरिदका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्न माग गरेका छन्।
 
प्रहरीले ३ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ गाडी खरिदका लागि माग गरेको छ। सशस्त्र प्रहरीले भने १ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ गाडी खरिदका लागि आवश्यक रहेको भन्दै माग गरेको छ।
 
प्रहरी र सशस्त्रबाट गरेर सवारी साधन खरिदका लागि भन्दै ५ अर्ब ३० करोड ७ लाख रुपैयाँ माग भएको गृहमन्त्रालय स्रोतले जनाएको छ। प्रहरी र सशस्त्रबाट माग भएको उक्त रकमसँगै जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयलाईसमेत सवारी साधन खरिद गर्नका लागि ५४ करोड रुपैयाँ आवश्यक रहेको भन्दै गृहले सवारी साधन खरिदका लागि कूल ५ अर्ब ८४ करोड ७ लाख रुपैयाँ माग गर्दै अर्थमा प्रस्ताव पेस गरेको छ।
 
सशस्त्र प्रहरी र नेपाल प्रहरीले यसअघि पनि स्थानीय चुनावको बेला सवारी साधन आवश्यक रहेको भन्दै खरिदका लागि बजेट माग गरेका थिए। त्यतिबेला अर्थले सवारी साधन खरिदका रकम निकासा गरेको थिएन।
 
अहिले फेरि मंसिर ४ गते हुने प्रदेश र संघको चुनावलाई लक्षित गर्दै सवारी साधन आवश्यक रहेको भन्दै बजेट माग गरिएको छ। यसअघि चुनावमा प्रहरीले भाडामा सवारी साधन प्रयोग गरेको थियो। अहिले फेरि त्यही अवस्था आउन लागेको भन्दै प्रहरी प्रधान कार्यालयले सवारी साधन खरिदका लागि रकम माग गरेको हो।