अमेरिकामा हुन नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति परिवर्तन

बैशाख २१,२०८०

-आस्था न्यूज

वैशाख २१, २०८० काठमाडौं । 
अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति परिवर्तन भएको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड साउन ६ गते (जुलाई २२) मा तय गरिएको छ । 
 
चलचित्र प्राविधिक संघ (नेफ्टा) अध्यक्ष पुष्कर लामाले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह सार्नु परेको जानकारी दिए । अवार्डको अमेरिका आयोजक मध्येको एक फेम नेपालका प्रमुख विमल पछाइले नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत र सफल तुल्याउन सजिलो हुने आशा लिइएको बताएको संघले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 
वैशाख ३१ मा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । जुरीले गरेका मूल्यांकनको आधारमा टप फाइभ घोषणा हुने अध्यक्ष लामाले जनाए । उत्कृष्ट पाँचमा अटाउने सबै फिल्मकर्मीले अमेरिकामा हुने अवार्डमा सहभागिता जनाउनेछन् ।
 
अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् ।  अमेरिकाअघि नेफ्टाका विदेशी संस्करण यूएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भैसकेका छन् ।