सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ ।
 
प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना जारी गरी देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो । 
 
बक्यौता महसुल नतिर्ने र बिना मिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत सडक बत्ती जडान गराउन पनि प्राधिकरणले आग्रह गरेको छ । 
 
साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा ऐनको बमोजिम विद्युत् लाइन काट्न चेतावनी समेत दिएको छ । प्राधिकरणको वितरण केन्द्रमा सम्पर्क गरेर मात्र सडक बत्ती जडान गर्न पनि प्राधिकरणले सुसूचित गराएको छ ।