निर्माण व्यवसायी महासंघको साधारणसभा, अर्थतन्त्र संकटमा नरहेको प्रधानमन्त्रीको दाबी

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । शुक्रबारदेखि हेटौंडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका हुन् । ‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले धेरै सुधार भइसक्यो,’ उनले भने । 
 
प्रधानमन्त्री दाहालले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘स्रोत सुनिश्चितता नगरी धेरै योजना अगाडि बढाइएको रहेछ । अहिले हामीले योजना पूर्ण रूपमा सम्पन्न भएको आयोजनाको भुक्तानी दिइसकेका छौं,’ उनले भने । प्रधानमन्त्री दाहालले स्रोत सुनिश्चिता नभएका योजना निर्माण व्यवसायीसँगको सहमतिमा काम अगाडि नबढाउने बताए ।
 
निर्माण व्यवसायीमैत्री कानुन निर्माण गरिने र सार्वजनिक खरिद नियमावली संशोधन गरिने प्रधानमन्त्री दाहालले बताए । ‘अहिले सदन सञ्चालनमा छैन । वन ऐन संशोधन गरी विकासमैत्री बनाइनेछ,’ उनले भने । प्रधानमन्त्री दाहालले सम्झौताबमोजिमको काममा गुणस्तरीयता कायम गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दै अन्यथा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिए ।