एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै

बैशाख ०३,२०८१

-आस्था न्यूज

बैशाख ३, २०८१ काठमाडौं ।
एसीसी प्रिमियर कपमा लगातार दुई खेलमा विजयी नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। सोमबार हुने हङकङसँगको भिडन्त बिहान ११स्४५ बजे सुरु हुँदैछ। दुई खेलमा चार अंक जोडेको नेपाल लगातार तेस्रो जितका लागि मैदानमा हुनेछ।
 
शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो।
 
शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए। आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए। सात बलको सामना गरेका गुल्सन झाले दुई छक्का र एक चौकासहित नटआउट १९ रन बनाए।
 
कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए। सन्दीप जोरा १२ रनमा नट आउट रहे। मलेसियाका लागि विरनदीप सिंहले ३ तथा मोहम्मद वाफिक र पवनदीप सिंहले एक(एक विकेट लिए।