आज चैते दशैं पर्व मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

बैशाख ०४,२०८१

-आस्था न्यूज

वैशाख ४, २०८१ काठमाडौं ।
आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।
 
वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।
 
चैते दशैंमा पनि दहि-चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ । काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।
 
चैते दशैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ । यसैगरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ । रामनवमीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।
 
गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।