दुर्घटनामा मोरङ र सुनसरीमा दुई जनाको मृत्यु

बैशाख ०४,२०८१

-आस्था न्यूज

वैशाख ४, २०८१ काठमाडौं ।
मोरङको उर्लाबारी र सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
 
सोमबार बेलुका कानेपोखरीबाट बिर्तामोड तर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको नम्बरको भारतीय नम्बर प्लेटको ट्याङ्करसँग ठोक्किएको थियो ।
 
सो दुर्घटनामा परी मोटरसाइकल चालक ३३ वर्षीय धनबहादुर जोगीको मृत्यु भएको प्रहरीले बताएको छ । पैदल यात्री उर्लावारीका ४५ वर्षीय रामकिशोर चौधरी र मोटरसाइकलमा सवार दर्पण जोगी घाइते छन् ।
 
सोमबार नै चतराबाट पकली तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुनसरीको बराहक्षेत्र-५ जमटोकीस्थित पकली-चतरा सडकखण्डमा विद्युतको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
 
दुर्घटनामा भोजपुरको षडानन्द १ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते छन् ।