मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

बैशाख ०५,२०८१

-आस्था न्यूज

वैशाख ५, २०८१ काठमाडौं ।
हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा मिथिला क्षेत्रका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् ।
 
यस अवसरमा रामजानकी मन्दिरमा रामायण र श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ । श्रीराम चरित्र वर्णन गर्दै व्रतीहरूले दशमी तिथि लागेपछि साङ्गता गर्ने मैथिल चलन छ । चन्द्रमास गणनाको चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन मानिन्छ ।
 
भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार रामायणमा विशेष वर्णित छ । मिथिलामा श्रीरामको आगमन, सीता स्वयम्वरमा सरिकता, सीतासँग विवाह र विवाह पश्चात मिथिलाका विभिन्न क्षेत्रमा भएका श्रीरामको भ्रमणका कथाले रामनवमी पर्व यहाँ विशेष बन्दै आएको छ ।
 
महोत्तरीको मटिहानी-७ स्थित लक्ष्मीनारायण मठ, जलेश्वरस्थित ब्रह्मचारीकुटी र बर्दिबासस्थित  रामजानकी मन्दिरसहित यहाँका बस्तीबस्तीमा श्रीराम जन्मोत्सव मनाइँदैछ ।