चैते धान रोपाईमा व्यस्त छन् किसान

बैशाख ११,२०८१

-रासस

वैशाख ११, २०८१ काठमाडौं ।
दाङको बंगलाचुली गाउँपालिका-४, गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनी बताउँछन् ।
 
यस वर्षको चैते धान धर्तीले सोमबारमात्रै रोपेर सके । भन्छन्, ‘सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिलेदेखि नै चैते धानखेती गर्दै आएका छौँ ।’
 
चैते र बर्खे धान गरेर वर्षमा २ बाली धान र एक बाली गहुँखेती गर्दै आएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने अनुभव सुनाए । उनले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोपेका छन् ।
 
बंगलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्नमै व्यस्त छन् । ४  रोपनी जग्गामा उनको रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उनले बताइन् । स्थानीय सरकारबाट सहयोग पाए अझै उत्पादन बढाउन सकिने उनको भनाइ छ ।