८० औं जन्मदिनमा कामीले पाइन नागरिकता उपहार

बैशाख १३,२०८१

-रासस

वैशाख १३, २०८१ काठमाडौं ।
जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्।
 
विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएका नोन्जोमलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बुधबार नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन्।
 
३५ वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो।
 
विकट गाउँ जहाँबाट जिल्ला  सदरमुकाम गमगढी पुग्न दुईरतीन दिन हिँड्नुपर्ने भएपछि जान आउन समस्या हुँदा र नागरिकताको आवश्यकताबारे जानकारी नहँदा त्यसै बसेको उनले बताइन्।
 
‘जब श्रीमानको मृत्यु भयो, घरमा कमाउने मान्छे भएन दुई छोरा पाल्न धौधौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान् नहुँदा नागरिकता बनेन,” उनले भनिन्।
 
श्रीमानको नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य कागजात पुगेपछि र ढिला नागरिकता लिनाको कारणबारे विश्वास लाग्दो प्रमाण जुटेपछि उनको नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए।
 
असी वर्षमा पनि नागरिकता नबन्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको थियो।
 
विभिन्न सञ्चार माध्यममा नोन्जोमका बारेमा समाचार सार्वजनिक भएपछि स्थानीय समाजसेवी सोनाम लामा कार्मारोङ र वडाध्यक्ष दावा साङवा तामाङले उनको नागरिकता बनाउने प्रक्रिया पू्रा गर्न सहयोग गरेका थिए।