काठमाडौँ महानगरका ४ वडामा ९२२ जनाको क्यान्सर परीक्षण, २६ जनामा पोजेटिभ

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ । उनीँहरुमध्ये ७७९ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिइन् । 
 
यस्तै रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमुना निकाल्ने) गरिएको छ । बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ । आज रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको छ । 
 
महानगरपालिकाको स्वास्थ्य विभागले निःशुल्क जाँचका लागि वैशाख ४ गतेदेखि निःशुल्क शिविर सुरु भएको हो । शिविरमा आउने सबै महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शङ्का लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ ।