पाकिस्तान एक दिन भारतको हिस्सा हुने विदेश मन्त्री जयशंकरको घोषणा !

आश्विन ०१,२०७६

-

असोज १,२०७६ काठमाडौं । 
भारतका विदेश मन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतको हिस्सा हुने बताएका छन् ।
 
आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा भारतका विदेश मन्त्री जयशंकरले भनेका छन्,“पाकिस्तान अधिनस्थ काश्मीरको बारेमा भारतको दृष्टिकोण प्रष्ट छ । पाकिस्तान भारतको हिस्सा हो र हामीलाई लाग्छ एक दिन त्यो भारतको हिस्सा हुनेछ ।” 
 
भारतीय विदेश मन्त्रीले संविधानको धारा ३७० को बारेमा भने,“यो दुईपक्षीय मुद्दा होइन । यो भारतको आन्तरिक मुद्दा हो । पाकिस्तानको साथ धारा ३७०को मुद्दा छँदै छैन । पाकिस्तानसँग आतंकवादको मुद्दा छ ।”
 
जयशंकरभन्दा पहिला भारतका अरु पनि थुप्रै नेताहरुले पाकिस्तान अधिनस्थ काश्मीरलाई भारतको हिस्सा बनाइने बताउँदै आएका थिए । 
 
यसअघि कसले के भनेका थिए?
 
रक्षामन्त्री राजनाथ सिंहले हरियाणाको पंचकुलामा एक चुनावी सभालाई सम्बोधन गर्दै यदि भारतको पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो वार्ता केवल पाकिस्तान अधिनस्थ काश्मीरको मामिलामा हुने बताएका थिए । 
 
भारतका गृहमन्त्री तथा भाजपाका अध्यक्ष अमित शाहले संसदमा बोल्दै संविधानको धारा ३७० मा बहस गर्दै चीन अधिनस्थ र पाकिस्तान अधिनस्थ काश्मीर भारतका अभिन्न हिस्सा भएकोले यसको लागि आफूहरुले ज्यान समेत दिने बताएका थिए ।
 
यस्तै केन्द्रीय मन्त्री जितेन्द्र सिंहले अबको एजेण्डा पाकिस्तानको कब्जामा रहेको काश्मीरलाई भारतको अभिन्न हिस्सा बनाउनु भएको जनाएका थिए ।  भाजपाका राष्ट्रिय महासचिव राम माधवले धारा ३७० अब इतिहास भइसकेको जनाउँदै अब भारतले अन्य कुरामा सोच्नुपर्ने र त्यसमा पाकिस्तान अधिनस्थ काश्मीर पनि रहेको जनाएका थिए ।
 
केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि पाकिस्तान अधिनस्थ काश्मीर आफूहरुको भएको जनाउँदै भारतकै हुने जनाएका थिए । उनले यो सबै हिन्दुस्तानीको भावना भएको र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हिन्दुस्तानको भरोसा रहेको समेत उल्लेख गरेका थिए ।  पाकिस्तान अधिनस्थ काश्मीर भारतकै हुने उनको दाबी थियो । 
 
अर्का नेता शिवराजसिंह चौहानले पाकिस्तान अधिनस्थ काश्मीर बनाउनको लागि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु जिम्मेवार रहेको आरोप लगाएका थिए । केन्द्रीय मन्त्री रामदास अठावलेले पाकिस्तानले आफू अधिनस्थ काश्मीर भारतलाई सुम्पनु राम्रो हुने समेत जनाएका थिए । 
 
उनले पाकिस्तान अधिनस्थ काश्मीरका मानिस पाकिस्तानसँग खुसी नरहेको र उनीहरु भारतको हिस्सा बन्न इच्छुक रहेको उल्लेख गरेका थिए । 
 
जम्मु काश्मीरका राज्यपाल सत्यपाल मलिकले पनि भविश्यमा पाकिस्तान अधिनस्थ काश्मीरका जनताले आफ्नो भूभागलाई भारतमा गाभ्नुपर्यो भन्ने माग राख्ने  दिन  आउने बताएका थिए । 
 
यसैगरी भारतका स्थल सेनाप्रमुख बिपिन रावतले पनि भनेका थिए,“पाकिस्तान अधिनस्थ कश्मीरको लागि पनि एजेण्डा तयार भइसकेको छ । भारतको हिस्सा बनाउनेछौं ।”
 
यद्यपि यस्तो मामिलामा सरकारले निर्णय लिने समेत सेनाप्रमुखले बताएका थिए । एकपटक सरकारले आदेश दिएमा अन्य निकायले तयारी गर्ने बताउँदै उनले सेना जतिबेलै यसका लागि तयार रहेको समेत उल्लेख गरेका थिए । बीबीसी