नेपाल ए लाई आयरल्याण्डले दियो २ सय २३ रनको विशाल लक्ष्य

चैत्र १६,२०८०

-आस्था न्यूज

चैत १६, २०८० काठमाडौं ।
आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो ।
 
मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । अन्तिम ४ ओभरमा नेपालले ६५ रन खर्चेको थियो । तीव्र गतिका बलर कमल सिंह ऐरीले दोस्रो बलमै विकेट लिएर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । रस अडेरलाई स्लिपमा क्याच आउट गराउँदै कमलले सुखद पुनरागमन गरे । एक वर्षपछि मैदान फर्केका उनले कसिलो बलिङ गरे ।
 
त्यसपछि केड कार्माइकल र पिटर मुरले ५८ बलमा ८८ रनको आक्रामक साझेदारी गरे । सागरले दशौं ओभरको अन्तिम बलमा केडलाई एलबीडब्लु आउट गरे । उनले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन जोडे ।
 
त्यसपछि अर्को ओभरमा पिटर अर्धशतकबाट १ रन नपुग्दा बोल्ड भए । आरिफको बलमा आउट हुनुअघि उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
 
स्टेफन डोहनीले १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रन बनाए । उनलाई कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाएर साथ दिए । दुवैलाई कमल सिंह ऐरीले आउट गरेका थिए ।