मुसीकोट झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

बैशाख ०१,२०८१

-रासस

वैशाख १, २०८१ काठमाडौं ।
रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका-१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन ।
 
यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ । अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्‍याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ ।
 
सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ ।
 
झ्याङ गाउँमा पछिल्लो केही वर्षयता लसुन खेतीतर्फ किसानको आकर्षण बढेको छ । सिङ्गो झ्याङ गाउँका बासिन्दाले लुसुन खेती गरिरहेका छन् । बाइस परिवार रहेको यो गाउँमा सबैले लसुन खेती गरिरहेका छन् । लसुन खेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ ।
 
गाउँमा पहिलो पटक २०६२र६३ सालदेखि लसुन खेती सुरु गरेका  स्थानीय ७१ वर्षीय झुपलाल खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी हुने गरेको बताए । ‘गाउँमा पहिलो पटक लसुन खेती गर्ने कुषक म नै हुँ, पछिल्लो सयम लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले गाउँका सबै किसान लसुन खेतीमा लाग्नुभएको छ’, खड्काले भने । गहुँबाट भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उनी बताउँछन् ।
 
‘गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म कमाई हुन्छ, अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ’, उनले भने ।
 
गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट एक लाख १० हजार रुपैयाँ आम्दानी भएको खड्काले बताए । एक दशकअघिको कुरा स्मरण गर्दै खड्काले भने, ‘पहिले डोकामा बोकेर चार घण्टा हिँडेर सदरमुकाम खलङ्गा पुगेर लसुन बिक्री गरेको हुँ, अहिले त गाउँ नजिकै सडक पुगेको छ । त्यही लगेर गाडीमा सजिलै बजार पुर्‍याउन सकिन्छ । धैरै कुरामा सहज भएको छ ।’ लसुनबाट मनग्य आम्दानी हुने भएकाले गहुँ लगाएको बारीमा आगामी वर्षदेखि लसुन खेती गर्ने सोच उनको छ ।
 
स्थानीय ६१ वर्षीय कर्णबहादुर खड्का पनि यतिबेला लसुनले फल लगाउने ९गाना० समय भएकाले लसुन खेतीको रेखदेख तथा गोडमेलनमा व्यस्त हुनुन्छ । घर नजिकैको केही जग्गामा गहुँ खेती गरे पनि धेरै जग्गामा लसुन खेती गरेका छन् ।
 
गत वर्षको भन्दा यसपटक अलि धेरै लसुन खेती गरेको खड्काले बताए । विंस २०६८ देखि व्यावसायिक लसुन खेतीमा लाग्नुभएका खड्का लसुन खेतीबाट सन्तुष्ट छन् । ‘गहुँ खेतीभन्दा लसुन खेतीलाई जोड दिएको छु, गहुँ खेतीबाट परिवारको खर्च व्यवस्थानप गर्न समस्या हुन्थ्यो, व्यावसायिक लसुन खेती गर्न थाले पनि आर्थिक रुपमा सहज भएको छ’, उनले भने ।
 
‘पहिले बजारको समस्या हुँदा व्यावसायिक रुपमा खेती गर्न सकिएको थिएन, अहिले त जति उत्पादन भए पनि लसुन खरिद गर्न ठेकेदार किसानकै बारीमा आउने गरेका छन्, यसले गर्दा पनि हामीलाई व्यावसायिक रुपमा लसुन खेती गर्न थप हौसला मिलेको छ’, खड्काले भने । उनले गत वर्ष लसुन बिक्रीबाट बीउबाहेक रु ८३ हजार आम्दानी गरेको सुनाए ।
 
खड्काहरुको बसोबास रहेको यो गाउँमा पछिल्लो समय लसुन खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । उत्पादन र आम्दानी दुवै राम्रो पाउने भएपछि लसुन खेतीमा आकर्षण बढ्दै गएको स्थानीय समेत रहनुभएका मालिका मावि चुनका शिक्षक गोपाल खड्काले बताए ।
 
उनले पनि शिक्षक पेसासँगसँगै साँझ बिहानको समयम लसुन खेती गर्दै आएका छन् । शिक्षण पेसामा २५ वर्ष खर्चिएका खड्का कृषि पेसालाई पनि सगँसँगै अँगाल्दै आएका छन् । लसुनबाट मनग्य आम्दानी देखेपछि २०६८ सालदेखि व्यावसायिक लसुन खेती गर्न सुरु गरेको उनले बताए ।
 
‘बारीमा अहिले एक सय २० किलो लसुन लगाएको छु, गत वर्ष बीउबाहेक रु ९० हजार आम्दानी भयो, यो वर्ष लसुनबट राम्रै आम्दानी हुने विश्वास छ । वडामा उत्पादन भएको लसुन बिक्रीमा समस्या छैन्, कृषकले उत्पादन गरेको लसुन बारीमै पुगेर व्यापारीले कृषकसँगै मूल्य निर्धारण गरेर खरिद गर्ने गरेका छन्’, शिक्षक खड्काले भने ।
 
प्रचारप्रसार, अनुदानमा बीउ वितरण, बजार व्यस्थापनको सहजीकरण वडाले गरेको छ । लसुन उत्पादन गर्ने किसानलाई प्राविधिक ज्ञान पर्याप्त नभएकाले प्राविधिक ज्ञानको आवश्यक रहेको शिक्षक खड्काले बताए ।
 
कुन बेला गोडमेल गर्ने, कुन औषधि प्रयोग गर्ने, बीउ कसरी लगाउने, प्राङ्गारिक मल व्यवस्थापनलगायत विषयमा प्राविधिकले किसानको खेतबारीमै पुगेर सिकाउन आवश्यक रहेको उनको भनाइ छ ।