कोरोना संक्रमणले प्रहरी सेवामा प्रभावित

श्रावण २०,२०७७

-

साउन २०, २०७७ काठमाडौं ।
वीरगन्ज महानगरपालिका-११ श्रीपुरस्थित वडा प्रहरी कार्यालयले साउन २ गते ५ भारतीय नागरिकलाई पक्राउ गर्‍यो । अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँचै जना वीरगन्जका औद्योगिक क्षेत्रमा भारतीय कामदार ओसार्थे । 
 
थुनामा राख्नुअघि गरिएको पीसीआर परीक्षणमा सबैमा कोरोना संक्रमण देखिएपछि प्रहरी झस्किए । ८ गतेबाट ४८ प्रहरी कार्यरत चौकी नै सिल गरियो ।
 
थुनामा रहेकाबाट संक्रमण सरेको हुन सक्ने आशंकमा सबै प्रहरीको पीसीआर परीक्षण गर्दा एक हवलदारमा संक्रमण पुष्टि भयो । यसरी १२ दिनसम्म सिल भएको प्रहरी चौकी सोमबारबाट फेरि सञ्चालनमा आएको छ ।
 
इन्सपेक्टर दीपक शाहका अनुसार सिलबन्दीका बेला चौकीमा आउने दैनिक करिब एक सय सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय जाने व्यवस्था मिलाइएको थियो ।
 
श्रीपुर चौकीको दृष्टान्तले कोरोना संक्रमणका कारण जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने प्रहरीहरू कसरी काम गरिरहेका छन् भन्ने मात्रै बुझाउँदैन, कसरी संक्रमणको खतरामा छन् भन्ने पनि बुझाउँछ । 
 
प्रहरी प्रधान कार्यालयमा पछिल्लो एक सातामै ७२ जना संक्रमित देखापर्नु र भारतसँग सीमा जोडिएका नाकामा खटिएका प्रहरीमा संक्रमण बढ्नु, सोमबार मात्रै संक्रमणको उच्च जोखिम रहेको प्रदेश २ का २ ब्यारेक सिलबन्दी गरिनुले प्रहरी संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ ।
 
अहिले प्रहरी प्रधान कार्यालयअन्तर्गतका सवारी व्यवस्थापन महाशाखा, सञ्चार निर्देशनालय, महानगरीय ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेक र सप्तरीको राजविराजस्थित प्रदेश २ तालिम केन्द्रको ब्यारेक सिल गरिएको छ ।
 
यसको सोझो असर सेवा प्रवाहमा पर्न थालेको छ । अनलाइनबाट वा नजिकैका प्रहरी कार्यालयबाट सेवा सञ्चालनको व्यवस्था मिलाइए पनि संक्रमण व्यापक भएको खण्डमा प्रहरीको सेवा प्रवाह कमजोर हुने देखिन्छ ।